काठमाडौ । देशभर आज विक्रम संवत् २०८२ को स्वागत उत्साहपूर्वक हुँदैछ । वैशाख १ गतेलाई नव वर्षको दिन मान्दै नेपालीहरू एकआपसमा शुभकामना साटासाट गर्दै, परम्परागत रीति–रिवाज अनुसार नयाँ वर्ष मनाइरहेका छन् ।
विक्रम संवत् नेपालमा औपचारिक र सांस्कृतिक रूपमा मान्य छ । आज सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने — मेष सङ्क्रान्तिको दिन — नयाँ वर्षको प्रारम्भ मानिन्छ । यो दिन सौरमान र चान्द्रमान दुवैको समन्वय भएको दिन हो, जसले यस संवतलाई विशेष बनाउँछ ।
यस दिन मानिसहरूले विगत वर्षको समीक्षा गर्दै सफलता र असफलताको लेखाजोखा गर्छन् । असफलता नदोहोरÞ्याउने र आगामी वर्षका लागि नयाँ योजना बनाउने परम्परा रहेको छ । बिहानै स्नान गर्ने, घर सफा गर्ने, मठ–मन्दिर जाने र पूजा–आराधना गर्ने चलन रहिआएको छ । साथै, मीठो खानेकुरा खाने, साथीभाइसँग भेटघाट गर्ने र शुभकामना आदानप्रदान गरिन्छ ।
नेपालमा मात्रै नभई भारत, बाङ्ग्लादेश, श्रीलङ्का लगायत दक्षिण एशियाका विभिन्न देशहरूमा पनि आजकै दिन नयाँ वर्ष मनाउने चलन छ । विश्वभर छरिएर रहेका नेपालीहरूले पनि वैशाख १ लाई परम्परागत रूपमा नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।
नव वर्ष नेपाली समाजमा धार्मिक, सांस्कृतिक र सामाजिक तीनै दृष्टिले महत्वपूर्ण छ । यस्तो पर्वले सामाजिक एकता, परम्पराको जगेर्ना र सकारात्मक ऊर्जा फैलाउन मद्दत गर्दछ । पछिल्लो समय सहर–बजारमा सांस्कृतिक चेतनाको कमी देखिँदै गएको भए तापनि, ग्रामीण क्षेत्रमा अझै परम्परागत विधिहरू सक्रिय छन् ।यस वर्ष, २०८२ मा, समृद्धि र सामाजिक समभावको भावना बलियो होस् भन्ने अपेक्षा गरौ । नव वर्ष २०८२को मंगलमय सुभकामना ।