काठमाडौं । वैदेशिक रोजगारीको बहानामा दुवई पु¥याई मानव बेचबिखन गरेको अभियोगमा ललितपुर महानगरपालिका–८ बस्ने ४२ वर्षीय मनोज महर्जनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई गौशालाबाट पक्राउ गरेको हो ।
पीडितलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले सम्बन्धित निकायको समन्वय तथा सहकार्यमा दुवईबाट २०८० चैत १९ गते उद्दार गरे पश्चात थप अनुसन्धानको क्रममा महर्जनले पीडितलाई आकर्षक तलबमा दुबईको टिस्यु पेपर प्याक गर्ने कम्पनीमा पठाईदिने प्रलोभन देखाई २ लाख ९० हजार रूपैयाँ लिई २०८० फागुन ७ गते दुवई पु¥याई घरेलु कामदारहरू पठाउने एजेन्टको अफिसमा लगि बेचबिखन गरी शारीरिक तथा मानसिक यातना दिई विना पारिश्रमिक दैनिक १८ देखि २० घण्टासम्म घरायसी काममा लगाई चरम श्रम शोषण गरेको खुल्न आएको छ ।
प्रहरीका अनुसार महर्जनले यसअघि पनि वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दामा ७ वर्ष कैद सजाय भुक्तान गरिसकेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ । उनलाई मानव वेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
पछिल्लो समयमा वैदेशिक रोजगारीमा नाममा ठगीका घटना दिनमा दुगुना रातमा चौगुनामा बढिरहेको छ । विशेष गरेर खाडी मुलुकदेखि युरोपियन मुलुकहरुमा आकर्षक रोजगारीको प्रलोभनमा पारी नेपाली युवायुवतीहरुलाई ठगी गर्ने गिरोह सक्रिय रहेको विभिन्न घटनाक्रमहरुले देखाएको छ । कहिले क्रोयशिया त कहिले माल्टा,रोमानीय,पोर्चुगलजस्ता युरोपियन देशमा आकर्षक रोजगारी दिलाउने भन्दै बिचौलियाहरुले व्यक्तिहरुबाट रकम उठाएर वेपत्ता हुने गरेका छन् ।कतिपय घटनाका दोषीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कार्वाही चलाईरहेको छ भने कपितपय घटनाका दोषीहरु अझै पनि फरार रहेका वैेदेशिक रोजगार विभागले जनाएको छ । आन्तरि रोजगारीको अभावमा वैदेशिक रोजगारीप्रति व्यक्तिहरुको आकर्षण स्वभाविक भएपनि गैर कानूनी माध्यामको सहारा लिएर जान खोज्दा ठगीको शिकार भएका घटनाहरु भईरहेका छन् । यसतर्फ युवाहरु पनि सचेत हुन जरुरी छ र राज्यले पनि गैर कानूनी रुपमा वैदेशिक रोजगारीको कार्य गर्ने बिचौलियाहरुलाई कडा भन्दा कडा कार्वाही गर्न अत्यावश्यक छ ।