शर्तसहित टिकटकको प्रतिबन्ध फुकुवा गर्ने तयारी

काठमाडौं । नेपालको सबै कानून मान्ने प्रतिबद्धता आएपछि सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । प्रतिबन्धित टिकटकले पत्र लेख्दै सरकारले राखेका शर्तहरुको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध फुकुवाको तयारीमा लागेको हो ।
यसअघि पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० को कात्तिक २७ मा टिकटकले सामाजिक सामाजिक मर्यादा बिथोलेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।
अब अहिले टिकटकले पत्र लेखेर नेपालका सबै कानुन र शर्त मान्ने लिखित प्रतिबद्धता जनाएपछि प्रतिबन्ध फुकुवाको तयारी शुरु भएको बताइएको छ ।
चीन सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउन पटक पटक विभिन्न तहबाट दबाब दिदै आएको छ । सञ्चार मन्त्रालय स्रोतले टिकटकले लिखित प्रतिबद्धता जनाएपनि यसको नियमन कसरी गर्ने भन्ने विषय छलफलमा रहेको बताएको छ । टिकटकमा प्रतिबन्ध लगाउदा तत्कालिन प्रधानमन्त्री प्रचण्डले कांग्रेस एमालेलाई विश्वासमा लिएर गरेका कारण अहिले फुकुवा गर्दा समेत प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस र माओवादी केन्द्रलाई समेत विश्वासमा लिनुपर्ने समेत बताइएको छ ।
टिकटक प्रतिबन्धपछि सर्वोच्च अदालतमा मुद्धाहरु समेत दायर भएका र मुद्धा विचाराधिन रहेको अवस्थामा सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णयले सरकारमाथि नै प्रश्न चिन्ह खडा गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *