सप्त ऋषिको पूजा आराधना गरी ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ । नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी पर्व मनाउँदै छन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला, पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको छ । ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्नाले गल्तीबाट मुक्ति पाइने विभिन्न धार्मिकग्रन्थमा उल्लेख गरिएको छ।
महिलाको रजस्वलासित जोडिएको ऋषिपञ्चमीका विषयमा एउटा किंवदन्ती पनि प्रचलित छ । प्राचीन समयमा भगवान इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेको कारण ब्रह्महत्याको पाप भोग्नुपर्यो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाए । इन्द्रको ब्रह्महत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फ्याँकिदिए ।
यसैकारण उब्जनी नहुने उषरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको पाइन्छ ।
यस अवसरमा आज काठमाडौँको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लाग्ने गर्छ । यहाँ महिला भक्तजनले अरुन्धतीसहित सप्तऋषिको पूजा लगाउने गर्छन् । मन्दिर जाने अवसर नजुट्ने महिलाले भने नदी किनार वा घरमै पूजा, आराधना गर्ने गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *