अराजकताले स्थिरता र नागरिक सुरक्षामा खतरा

अराजकता केवल असंतुष्ट विचारहरूको प्रतिफल मात्र होइन; यो सम्पूर्ण समाजको अस्थिरता, अव्यवस्था र असुरक्षाको कारक बन्न सक्छ । जब कुनै व्यक्ति वा समूहले कानूनी दायरालाई तोड्दै हिंसा, हुलदंगा वा अन्य अशान्त गतिविधिहरू सञ्चालन गर्छ, त्यसको असर केवल तिनीहरूमा मात्र सीमित रहँदैन । यसले राष्ट्रभर नकरात्मक प्रभाव पार्दै, समाजमा भय, तनाव र असहज परिस्थितिको सिर्जना गर्छ । नागरिकको दैनिक जीवनमा अवरोध खडा गरी, उनीहरूको स्वतन्त्रता र सुरक्षामा खलल पुग्छ । अराजकता र हिंसात्मक गतिविधिले केसम्म गर्छ भन्ने कुरा चैत १५ गते काठमाडौको तीनकुनेमा भएको राजावादीहरुको आन्दोलनका क्रममा भएको हिंसात्मक घटना र त्यसले धनजनमा पुर्याएको क्षतिलाई लिन सकिन्छ । जुन घटनामा परि एकजना सञ्चारकर्मी र अर्का एकजनाले ज्यान गुमाउन पुगे भने दर्जनौं घाइते भए । उक्त घटना हुनुमा राज्य पक्ष दोषी भएको आन्दोलनरत पक्षले बताएको छ भने राज्यले आन्दोलनमा उत्रिएका समूहले गर्दा भएको भन्दै केही व्यक्तिहरुलाई पक्राउ गरि अनुसन्धान अघि बढाएको अवस्था छ ।
दुर्गा प्रसाई नेतृत्व र नवराज सुवेदी नेतृत्वमा भएको र संवैधानिक राजतन्त्र स्थापनाका लागि गरिएको आन्दोलनले पहिलो दिनमै एकाएकहिंसाको रुप लिएपछि पार्टी कार्यालय,ब्यापारिक केन्द्र र व्यक्तिको निवासमा समेत क्षति पुर्याएपछि सरकार कडा रुपमा प्रस्तुत भयो र आन्दोलन नै रोकिएको अवस्था छ । आन्दोलनको गलत प्रयोगले भएको उक्त घटनाको क्षति जुन पक्ष दोषी छ उसले व्यहोर्नुृ पर्छ नै । राज्य पक्षले व्यक्तिको घरको छतमा बसेर गोली र अश्रु ग्यास प्रदर्शनकारिमाथि प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । त्यसको निष्पक्ष छानविन हुन जरुरी छ र दोषीमाथि कार्वाही हुनै पर्दछ । अराजकता पैदा गरेर लक्ष्यमा पुग्न सकिदैन भन्ने कुरा सम्बन्धीत पक्षले बुझ्नु पर्दछ । तथा दबाएर र निरंकुश व्यवहार गरेर शान्ति स्थापना गर्छ भन्नु राज्य पक्षको पनि मुर्खता शिवाय केही हुदैन् ।
अधिकार प्राप्ति र व्यवस्था परिवर्तनका लागि आन्दोलन र विरोध प्रदर्शन गर्नु जनताको नैसर्गिक अधिकार हो र उक्त अधिकारा संविधानले नै दिएको छ । यदि हामीले कानूनी नियमहरूको पालन गर्छौं गराउँछौं भने, समाजमा स्थायित्व र न्याय स्थापित गर्न सकिन्छ । तर, कुनै व्यक्ति वा समूहले आफ्नो स्वार्थका लागि अराजकता फैलाउने प्रयास गरेमा, त्यसले केवल व्यक्तिगत फाइदा मात्र खोज्दैन, बरु समाजको समग्र अस्तित्वलाई नै खतरामा पार्छ कानूनी मर्यादा उल्लंघन गर्ने प्रवृत्तिले सामाजिक समरसता भंग गर्छ र नागरिकहरूको परस्पर विश्वासलाई कमजोर पार्छ ।
अराजक गतिविधिलाई कुनै पनि बहानामा उचित मान्न सकिँदैन । चाहे विचारधारात्मक असहमति होस् वा अन्य कुनै असन्तुष्टि, हिंसा र अव्यवस्थाले कहिल्यै समाधान ल्याउँदैन । यसले केवल द्वन्द्व बढाउने, समाजलाई विखण्डन गर्ने र स्थिरतालाई कमजोर पार्ने काम मात्र गर्छ । स्वस्थ समाज निर्माणका लागि प्रत्येक नागरिकले कानूनको सम्मान गर्नुपर्छ, परस्पर सम्मानपूर्वक व्यवहार गर्नुपर्छ र सहमति, संवाद तथा शान्तिपूर्ण माध्यमबाट आफ्ना असन्तुष्टिहरू व्यक्त गर्नुपर्छ ।
समाजमा चुनौतीहरू रहन्छन्, र कहिलेकाहीं मानिसहरू असन्तुष्ट बन्ने अवस्था आउन सक्छ । तर, कुनै पनि असहमतिको उचित समाधान हिंसात्मक विरोध वा अराजक क्रियाकलाप होइन । समस्या समाधानको सबैभन्दा प्रभावकारी उपाय संवाद, सहकार्य र कानूनी प्रक्रिया भित्र रही निष्कर्ष निकाल्नु हो । यदि हामीले परस्पर समझदारीको अभावमा अराजकता रोज्यौं भने, हाम्रो समाजलाई शान्ति र स्थिरतामा राख्न झन् कठिन हुनेछ ।
अराजकतावादी गतिविधिहरूलाई रोक्न सरकार, सुरक्षा निकाय तथा समाजका हरेक सदस्यको सक्रिय भूमिका अपरिहार्य छ । कानून उल्लंघन गर्ने जोसुकैलाई दण्डित गर्नुपर्छ, किनकि यदि अनुशासनहीनता हावी हुन्छ भने, त्यसले हाम्रो सामाजिक संरचना र राष्ट्रिय भविष्यमा गम्भीर असर पार्न सक्छ । अराजकता सिर्जना गर्ने अधिकार कसैलाई पनि छैन । यसको प्रभाव केवल अशान्ति र असुरक्षामा सीमित नरही, समाजको स्थायित्वलाई नै कमजोर बनाउँछ । त्यसैले, हाम्रो दायित्व हो कि हामी सहअस्तित्व, परस्पर सम्मान र कानूनी प्रक्रियालाई आत्मसात् गर्दै आफ्ना असहमति जनाउन विरोधसभा र प्रदर्शन गर्न
सक्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *