काठमाडौ । हिन्दू धर्मावलम्बीहरू आज श्रद्धा, भक्ति र आस्था सहित श्रीराम नवमी पर्व मनाउँदैछन् । वासन्तीय नवरात्रको नवौं दिन पर्ने यस पवित्र पर्वमा त्रेतायुगमा अयोध्याका राजा दशरथ र रानी कौशल्या देवीको सुपुत्रका रूपमा अवतार लिनुभएका भगवान् श्रीरामको जन्मोत्सव मनाइन्छ ।
धार्मिक शास्त्रहरू अनुसार भगवान् राम विष्णुको सातौँ अवतार हुन्, जसको जन्म पुनर्वसु नक्षत्र र कर्कट लग्नमा भएको उल्लेख छ । उनकी जन्मकुण्डलीमा सूर्य, मंगल, गुरु, शुक्र र शनि ग्रहको दुर्लभ योग एकसाथ रहेको भनिन्छ, जसलाई अत्यन्त शुभ र शक्तिशाली मानिन्छ ।
राम नवमीको धार्मिक र आध्यात्मिक महत्व
राम नवमी केवल भगवान् रामको जन्मजयन्ती मात्र नभएर धर्म र सत्यको विजयको प्रतीक पनि हो । उनले जीवनमा देखाएको मर्यादा, अनुशासन र कर्तव्यबोध आजको सन्दर्भमा पनि अत्यन्त सान्दर्भिक मानिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार, “रामजस्तो आदर्श शासकको कल्पना आज पनि गरिन्छ। जनताको हित र कल्याणमा समर्पित राज्यव्यवस्था नै रामराज्य हो। यसले समृद्धि र सुसंस्कृत समाजको निर्माण गर्छ ।”
व्रतार्क, अगस्त्य संहिता, गाग्र्यतन्त्र र अन्य हिन्दू ग्रन्थहरूमा राम नवमीका अवसरमा व्रत, जप, ध्यान, रामायण पाठ र रामभजनको विशेष महत्व उल्लेख गरिएको छ । धार्मिक मान्यताअनुसार यस दिन रामको पूजाआराधना गर्ने व्यक्तिलाई मनोकामना पूर्ण हुने र वैकुण्ठ प्राप्त हुने विश्वास छ ।
नेपालको जनकपुरधाम र भारतको अयोध्यामा राम नवमी विशेष धुमधामका साथ मनाइन्छ। जनकपुरस्थित रामजानकी मन्दिरमा आज विशेष मेला लाग्दछ जहाँ हजारौँ श्रद्धालुहरू नेपाल र भारतका विभिन्न भागबाट सहभागी हुन्छन् । यस अवसरमा रामलीला, झाँकी, भजनकीर्तन, धार्मिक प्रवचन, कथा वाचन लगायतका कार्यक्रमहरू आयोजना गरिन्छन् ।
अयोध्यामा आजको दिन पवित्र सरयू नदीमा स्नान गरेर श्रद्धालुहरू रामायण वाचन, पूजा पाठ र रातभरि भजन संकीर्तन गर्ने परम्परा निभाउँछन्। राम नवमीको धार्मिक वातावरणले भक्तजनलाई धर्म, भक्ति र आत्मशुद्धिको मार्गमा उन्मुख गराउँछ ।
रामको जीवन– चरित्रको सन्देश
भगवान् श्रीरामको जीवन एक आदर्श पात्रका रूपमा स्मरणीय छ। उनले केवल एक राजा मात्र नभई पुत्र, पति, दाजु, मित्र र नेता सबै रूपमा मर्यादा, सत्य र कर्तव्यको अनुपम उदाहरण प्रस्तुत गरे। विशेषतः वनवास, सीता अपहरणपछि युद्ध र राज्याभिषेकसम्मको जीवन यात्रा नै उनको धैर्य, सहनशीलता र आत्मसमर्पणको गाथा हो । राम नवमी केवल एक पर्व होइन, यो मानवताको मूल मूल्य – सत्य, धर्म, करुणा, मर्यादा र कर्तव्य – लाई आत्मसात् गर्ने अवसर हो। भगवान् श्रीरामको स्मरण गर्दा हामीले आफ्ना जीवनमा कति अनुशासन, सदाचार र धैर्य अपनाएका छौँ भन्ने आत्मावलोकन गर्नु पर्दछ। आजको दिन व्यक्तिगत तथा सामाजिक जीवनमा रामत्वको सन्देश आत्मसात् गर्ने प्रेरणादायी अवसर हो ।