अर्थतन्त्र संकटमा, राष्ट्र बैंकको नयाँ नेतृत्व को ?

काठमाडौं । कोरोना महामारी, आर्थिक मन्दीले मनोबल गिरिरहेको वर्तमान अवस्थामा नेपाल राष्ट्र बैंक नेतृत्वविहीन बनेको छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै अब नयाँ गभर्नर को हुने ? भन्ने प्रश्न मात्र होइन, पेशागत दक्षतामाथि पनि प्रश्न उठिरहेको छ । राष्ट्र बैंकको गभर्नर नियुक्तिमा हुने गरेको राजनीतिक भागबण्डा र चलखेलले सरकारमाथि नै गम्भीर प्रश्न उब्जाएको छ यतिबेला ।
गभर्नर नियुक्तिका लागि सरकारले तीन जनाको नाम सिफारिस गर्न समिति गठन गरेको छ । अब तीमध्येबाट योग्य व्यक्ति छनोट गर्ने जिम्मा प्रधानमन्त्री र मन्त्रिपरिषद्को काँधमा छ । तर सत्तासिन दल एमाले र नेपाली काँग्रेसबीच कसलाई गभर्नर बनाउने भन्ने विषय थप पेचिलो बनिरहेको छ । यो केवल नियुक्तिको प्रक्रिया मात्र होइन, यो मुलुकको समग्र आर्थिक यात्राको दिशा बदल्ने घडी पनि भएकाले योग्य र क्षमतावान व्यक्तिलाई राष्ट्र बैंकको नेतृत्व प्रदान गर्नुपर्ने आवाज उठिहरेको छ ।
नेपालको अर्थतन्त्र अहिले गम्भीर चरणमा छ । कोभिडपछिको पुनरुत्थान अलमलमै छ, उत्पादन क्षेत्र कमजोर छ, निजी क्षेत्रको मनोबल कमजोर, कर्जाको माग घट्दो, र व्यापार घाटा उच्च अवस्थामा छ । यस्तो बेलामा गभर्नरको भूमिका केवल मौद्रिक नीति बनाउने पद होइन, सम्पूर्ण आर्थिक योजनाको ‘सिन्को’ हो भन्ने कुरा बुझ्न जरुरी छ ।
भविष्यका गभर्नरले उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह बढाउनु पर्नेछ भने तथ्यांकमा आधारित आधुनिक मौद्रिक नीति निर्माण गर्नुपर्ने र आयातमुखी खपत घटाउँदै वैदेशिक मुद्राको सञ्चय गर्नुपर्ने चूनौति रहेको छ ।
नेपाली रुपैयाँको स्थिर विनिमय दर दशकौँदेखि नबदलिए पनि त्यसको दीर्घकालीन असरबारे अध्ययन गरिएको छैन । अब त्यो दर वर्तमान आर्थिक संरचना अनुसार पुनरावलोकनको माग गरिरहेको छ । त्यसमाथि जलवायु परिवर्तन, हरित लगानी र डिजिटल अर्थतन्त्रको चुनौती थपिएको छ ।
गभर्नरको टेबुलमा दर्जनौँ फाइल पर्खिरहेका छन्, डिजिटल मुद्रा सुरु गर्ने, सम्पूर्ण भुक्तानी प्रणालीलाई स्वीचमार्फत जोड्ने, विद्युतीय कारोबार सुरक्षित बनाउने, कृत्रिम बौद्धिकता ( लाई नियमन गर्ने, पुँजी बजारमा बैंकको हस्तक्षेप घटाउँदै मार्जिन ट्रेडिङलाई बढावा दिने, प्रदेश कार्यालयहरूलाई अनुसन्धान र सुपरिवेक्षण केन्द्र बनाउने, तथा नयाँ भवन निर्माणजस्ता भौतिक पूर्वाधार सुधार गर्नेलगायतका विषय टट्कारो रुपमा उभिएका छन् ।
बिदाइ हुँैगर्दा गभर्नर अधिकारीले भेका छन् “अबको गभर्नर नीतिमा बोल्ने मात्र हैन, समाधान दिन सक्नुपर्ने नेतृत्व चाहिन्छ ।”
सरकारले अब राजनीतिक समीकरण भन्दा माथि उठेर त्यस्तो व्यक्ति छनोट गर्नुपर्छ, जसले आर्थिक मोर्चामा देशको विश्वास फिर्ता ल्याउन सकोस् ।

अर्थतन्त्र संकटको गहिराइमा पुगेको छ, अब नेतृत्वमा आउने गभर्नर संकटमोचक हुनुपर्नेछ । नत्र राष्ट्र बैंकको आँगनमा मात्र होइन, देशको आर्थिक भविष्यमै कालो बादल मडारिन सक्ने खतरा देखिँदैछ । जाँदाजाँदै उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *