काठमाडौं । नेपालमा रोजगारीको अवसर अभावकै कारण वैदेशिक रोजगारतर्फ आकर्षण झन् तीव्र बन्दै गएको देखिएको छ । चालु आर्थिक वर्षको नौ महिनामै ६ लाखभन्दा बढी नेपाली श्रमिक विदेशिएका छन् । वैदेशिक रोजगार विभागको चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ६ लाख ७ हजार ८७४ जनाले नयाँ वा पुनः श्रम स्वीकृति लिएर मुलुक छाडेका हुन् ।
तथ्याङ्क अनुसार विदेशिनेहरूमध्ये झन्डै ९० प्रतिशत पुरुष छन् । ५ लाख ३९ हजार ७१४ जना पुरुष विदेशिएका छन भने महिला ६८ हजार १६० रोजगारीका लागि विभिन्न देश गएका छन् । चैत महिनामात्रै ७३ हजार ४०३ जनाले श्रम स्वीकृति लिएका छन्, जुन अघिल्लो महिनाको तुलनामा करिब ४५०० बढी भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
चैत महिनामा सबैभन्दा धेरै नेपाली २३ हजार ६७१ जनाले युएईका लागि श्रम स्वीकृति लिएका छन् । युएईपछि साउदी अरेबिया १४ हजार ७७ र कतार ११ हजार १४५ प्रमुख गन्तव्य बनेका छन् । केही वर्षयता पछाडि परेको मलेसिया चौंथो स्थानमा पुगेको छ, जहाँ ५ हजार ३४१ जना गएका छन् ।
सरकारी ‘जिटुजी’ प्रणालीबाट चैतमा एक हजार ३१८ जना दक्षिण कोरिया गएका छन् भने २१६ जना इजरायल पुगेका छन्, जसमा महिलाको संख्या उल्लेखनीय रहेको छ । चैत महिनामा कुल वैदेशिक श्रमिकमध्ये २९ हजार १८५ जना म्यानपावर कम्पनीमार्फत गएका छन् भने १० हजार ४३५ ले व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएका छन् । यसरी विदेशिने
श्रमिकको दक्षता वर्गीकरण हेर्दा उच्च दक्ष ७८,दक्ष श्रमिक ४२ हजार ४५४,अदक्षः २१ हजार ६९५्अर्धदक्षः ८ हजार ८९९ रहेका छन भने व्यावसायिकतर्फ २७७ जना वैदेशिक रोजगारीमा गएका तथ्याङ्कमा उल्लेख गरिएको छ ।
श्रमका लागि विदेशिने श्रमिकमा अदक्षको संख्या अझै पनि उच्च नै रहेको छ । पछिल्लो समयमा अदक्ष श्रमिकको संख्यामा कमी आएको भएपनि अपेक्षित रुपमा घट्न सकेको छैन् । सरकारले वैदेशिक रोजगारमा निर्भरता घटाउने र स्वदेशमै रोजगारी सिर्जना गर्ने घोषणा गरे पनि व्यवहारमा त्यस्तो पहल प्रभावकारी बन्न नसक्दा युवाहरु रोजगारीो खोजीमा विदेशिन बाध्य छन् । यसरी वषेनी युवाशक्ति विदेशिदा देशको विकासमा भने ह्रास आइरहेको कुरामा राज्य मौन छ ।